धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, चालकसहित ९ जना घाइते
धादिङमा बोलेरो गाडी दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने चालकसहित नौ जना घाइते भएका छन्।
आज राति १ः५५ बजे रुबीभ्याली गाउँपालिका–४ कलदाङस्थित लापाबाट बोराङतर्फ जाँदै गरेको बा.प्र.०२०३३ च ७१६९ नम्बरको बोलेरो अनियन्त्रित भई करिब ४०० मिटर तल सडकमा खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा रुबीभ्याली गाउँपालिका–४ बोराङकी ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा घाइते हुनेमा सातदेखि ४० वर्ष उमेर समूहका नौ जना रहेका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर र छ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
घाइतेहरूलाई उपचारका लागि बोराङ स्वास्थ्य चौकी पठाइएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।