सप्तरीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
सप्तरीको रुपनी गाउँपालिकामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
गएराति करिब १ बजे रुपनी गाउँपालिका–६ वीरेन्द्र बजारका ५३ वर्षीय सुवबहादुर श्रेष्ठको हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हेमराज घिमिरेका अनुसार बस्तीमा हात्ती आएको थाहा पाएपछि घरनजिकै आगो बालेर बसिरहेका श्रेष्ठमाथि हात्तीले आक्रमण गरेको थियो । उनका छोरा अर्जुन भने भागेर ज्यान जोगाउन सफल भएका छन् ।
एक सातादेखि हात्तीको ठूलो बथान रुपनी क्षेत्रमा प्रवेश गरेपछि स्थानीय त्रसित बनेका छन् । यसअघि कात्तिक २९ गते पनि सुरुङ्गा नगरपालिका–४ मा हात्तीको आक्रमणबाट ७० वर्षीय गोपी चौधरीको मृत्यु भएको थियो ।