पूर्वआईजीपी दानबहादुर कार्कीको पुनर्बहालीसम्बन्धी रिटमा आज सुनुवाइ हुँदै
प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका तत्कालीन प्रहरी प्रमुख दानबहादुर कार्कीले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ ।
कार्कीको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा पेसी तोकिएको छ ।
यसअघि गत मङ्सिर ७ गते न्यायाधीश हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा रिटको पेसी तोकिएको थियो । तर, नवनियुक्त आईजीपी डा. मनोज केसीले रिटसम्बन्धी म्याद बुझेको प्रमाण अदालतमा पेस हुन नसकेपछि सुनुवाइ हुन सकेको थिएन ।
कार्कीले प्रहरी ऐन, २०१२ र प्रहरी नियमावली, २०७१ विपरीत आफूलाई पदबाट हटाइएको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । उनले आफूलाई प्रहरी महानिरीक्षक पदमा पुनर्बहाली गर्न र नवनियुक्त आईजीपीलाई कामकाज गर्न नदिन अन्तरिम आदेश जारी गर्न माग गरेका छन् ।
यसअघि न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कार्कीलाई पदबाट हटाउनुको कारणसहित लिखित जवाफ पेस गर्न सरकारका नाममा आदेश जारी गरेको थियो ।
बालेन्द्र शाह नेतृत्वको सरकारले डा. मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्दै कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो ।
अब सर्वोच्च अदालतमा हुने सुनुवाइपछि कार्कीको पुनर्बहालीको माग र नवनियुक्त आईजीपी केसीको नियुक्ति तथा कामकारबाही रोक्न अन्तरिम आदेश जारी हुने वा नहुने विषयमा थप प्रक्रिया अघि बढ्नेछ । यसबारे अन्तिम निर्णय भने अदालतको सुनुवाइ र आदेशपछि मात्रै स्पष्ट हुनेछ ।