ठमेलमा पर्यटक ठगी गर्ने २२ जनामाथि कारबाही, व्यवसाय सञ्चालनमा कडाइ
राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पर्यटकलाई ठगी गर्ने तथा विभिन्न कानुनविपरीत गतिविधिमा संलग्न २२ जनामाथि कारबाही गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौं, नेपाल प्रहरी, पर्यटक प्रहरी, नगर प्रहरी र ठमेल पर्यटन विकास परिषद्को संयुक्त टोलीले गएराति ठमेल क्षेत्रमा गरेको अनुगमनका क्रममा उनीहरूमाथि कारबाही प्रक्रिया अघि बढाएको हो ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी खेमराज भुसालका अनुसार ठूलो आवाजमा सङ्गीत बजाएर सञ्चालन गरिएका रेस्टुरेन्ट तथा बार, विना दर्ता सञ्चालित स्पा, अन्तःशुल्क दर्ताविना मदिरा बिक्री गर्ने व्यवसायी तथा पर्यटकलाई ठगी गर्ने डान्सबार सञ्चालक कारबाहीको दायरामा परेका छन् ।
गत शुक्रबारको अनुगमनमा पहिचान भएका रेस्टुरेन्ट तथा बार सञ्चालकलाई पत्राचार गरी प्रशासनमा उपस्थित हुन निर्देशन दिइएको थियो । उनीहरूलाई आगामी एक साताभित्र व्यवसाय कानुनअनुसार सञ्चालन गर्न, ध्वनि प्रदूषण नियन्त्रण गर्न र आवश्यक मापदण्ड पूरा गर्न प्रशासनले निर्देशन दिएको छ ।
त्यसैगरी, विना दर्ता सञ्चालन भइरहेका स्पा तथा बारलाई एक साताभित्र सम्बन्धित निकायमा दर्ता गरी कानुनी प्रक्रिया पूरा गर्न भनिएको ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष राजुमान डङ्गोलले जानकारी दिए ।
अन्तःशुल्क दर्ता नगरी मदिरा बिक्री गर्ने व्यवसायीको मदिरा तथा अन्य सामानसमेत जफत गरिएको छ । उनीहरूलाई पनि एक साताभित्र आवश्यक कानुनी प्रक्रिया पूरा गर्न अल्टिमेटम दिइएको छ ।
ठमेललाई २४ सै घण्टा सञ्चालन गर्ने उद्देश्यसहित जिल्ला सुरक्षा समिति काठमाडौंबाट स्वीकृत ‘ठमेललाई २४ सै घण्टा सञ्चालनसम्बन्धी आचारसंहिता एवं सुरक्षा व्यवस्थापन मापदण्ड, २०८०’ कार्यान्वयन गर्ने क्रममा प्रशासनले अनुगमनलाई तीव्रता दिएको हो ।
अनुगमनका क्रममा सडकमा मदिरा सेवन गरी होहल्ला गर्ने व्यक्तिलाई नियन्त्रणमा लिइएको छ । केहीलाई सम्झाइबुझाइ गरी छाडिएको भने केहीलाई प्रहरी भ्यानमा राखेर नियन्त्रणमा लिइएको परिषद्का महासचिव पशुपति कँडेलले बताए ।
रातिको समयमा ठूलो आवाज निकाल्ने गरी स्वरूप परिवर्तन गरिएका मोटरसाइकल चलाउने चालकलाई समेत नियन्त्रणमा लिएर कारबाही गरिएको छ । सडकपेटीमा चिया तथा चुरोट बिक्री गर्ने नाममा अनैतिक गतिविधि सञ्चालन गर्नेहरूलाई नगर प्रहरीले हटाएको जनाएको छ ।
विशेषगरी भारतीय पर्यटक तथा पाहुनालाई डान्सबार र अन्य मनोरञ्जन व्यवसायका नाममा ठगी गर्ने तथा कुटपिटमा संलग्न व्यक्तिमाथि पनि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको परिषद्का महासचिव कँडेलले जानकारी दिए ।
अनुगमनका क्रममा ठगीमा परेका विदेशी पर्यटकको रकमसमेत फिर्ता गराइएको छ । पर्यटकसँग अनावश्यक रूपमा अत्यधिक रकम असुल्ने प्रवृत्ति नियन्त्रण गर्न प्रशासनले निगरानी थप कडा बनाएको जनाएको छ ।
ठमेलको पर्यटन व्यवसायलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउँदै विदेशी पर्यटकलाई ठगी तथा दुर्व्यवहारबाट जोगाउने उद्देश्यले अनुगमनलाई निरन्तरता दिइने प्रशासनको तयारी छ ।