नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी जागिर खाएको आरोपमा मगरविरुद्ध मुद्दा
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी करार सेवामा सरकारी जागिर खाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक कर्मचारीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
आयोगले प्यूठानको सरुमारानी गाउँपालिका–४ निवासी भोजबाबु सोमै मगरविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
आयोगका अनुसार मगरले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी), सानोठिमी, भक्तपुरबाट जारी भएको देखिने डिप्लोमा इन सिभिल इन्जिनियरिङ तहको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेका थिए ।
उक्त प्रमाणपत्रका आधारमा उनले सुरुमा रुम्जाटार माध्यमिक विद्यालय र त्यसपछि खानेपानी मन्त्रालयअन्तर्गतको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, बुटवलमा सब–इन्जिनियर पदमा करार सेवामा काम गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् ।
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सार्वजनिक पद, ओहदा, लाभ तथा सुविधा लिएको देखिएकाले मगरविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।
आयोगले उनीमाथि उक्त कानुनी व्यवस्थाबमोजिम कैद र जरिवानाको सजाय हुनुपर्ने मागदाबी गरेको छ । मुद्दा विशेष अदालतमा दायर भएसँगै अब यस विषयमा अदालतबाट हुने निर्णयले आरोपको कानुनी निरूपण गर्नेछ ।