मुख्यमन्त्री कार्की र प्रदेश प्रमुख खापुङबीच बिदाइ भेट
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग बिदाइ भेट गरेका छन् । विसं २०७८ कात्तिक २५ गते प्रदेश प्रमुखको कार्यभार सम्हालेका खापुङ पाँचवर्षे कार्यकाल पूरा गरी यही कात्तिक २४ गते पदबाट बिदा हुँदैछन् ।
बिदाइ भेटका क्रममा मुख्यमन्त्री कार्कीले प्रदेशको विकास र समृद्धिमा प्रदेश प्रमुख खापुङले पुर्याएको योगदानको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे । उनले सीमित स्रोतसाधनका बीच प्रदेशमा विकास र राजनीतिक स्थिरता कायम राख्न प्रयास भइरहेको जानकारी गराउँदै खापुङको अभिभावकीय भूमिका स्मरणीय रहने बताए ।
मुख्यमन्त्री कार्कीले सङ्घीयता कार्यान्वयनका क्रममा संवैधानिक तथा कानुनी व्यवस्थालाई व्यवस्थित बनाउन प्रदेश प्रमुख खापुङले खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।
मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलका अनुसार भेटमा प्रदेशको विकास, समृद्धि तथा समसामयिक विविध विषयमा समेत छलफल भएको थियो । भेटका क्रममा प्रदेश प्रमुख खापुङले आफ्नो कार्यकालमा प्रदेश सरकारले गरेको सहयोग र सहकार्यप्रति धन्यवाद व्यक्त गरेका थिए ।
संवैधानिक व्यवस्थाअनुसार प्रदेश प्रमुखको कार्यकाल पाँच वर्षको हुने व्यवस्था छ । एक प्रदेशमा पाँच वर्ष कार्यकाल पूरा गरेपछि सोही प्रदेशमा पुनः प्रदेश प्रमुख नियुक्त हुन नपाउने संवैधानिक प्रावधान रहेको छ ।