सङ्खुवासभा कारागारका कैदीको उपचारका क्रममा मृत्यु
सङ्खुवासभा जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका एक कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएको छ । चिचिला गाउँपालिका–१ घर भएका २८ वर्षीय भोला राईको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा आइतबार बिहान ३ बजे मृत्यु भएको जिल्ला कारागार सङ्खुवासभाका प्रमुख जेलर धनबहादुर श्रेष्ठले जानकारी दिए ।
ज्यान मार्ने उद्योग मुद्दामा कैद भुक्तान गरिरहेका राईलाई मुटुसम्बन्धी समस्या देखिएपछि शनिबार बिहान ७ बजे जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि शनिबार दिउँसो ३ बजे विराटनगर पठाइएको थियो ।
राईलाई उनकी श्रीमती र कारागारबाट प्रहरी नायब निरीक्षक तुलसीराम राईसहितको प्रहरी टोलीले उपचारका लागि सुरुमा विराटनगरस्थित कोशी अस्पताल पुर्याएको थियो । कोशी अस्पतालमा उपचारपछि थप उपचारका लागि नोबेल अस्पताल लगिएकोमा चिकित्सकले आइतबार बिहान मृत घोषणा गरेका थिए । जिल्ला अदालत चैनपुरले २०८३ वैशाख ४ गते राईलाई कारागार चलान गरेको थियो ।
यसैबीच, जिल्ला कारागार सङ्खुवासभामा १० जना कैदीबन्दी नियमित औषधि सेवन गर्दै आएका छन् । कारागारमा सात महिलासहित कुल १५१ जना कैदीबन्दी रहेका छन् ।