डोल्पामा भारी हिमपातका कारण ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारको तयारी
डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ मा भारी हिमपातका कारण ६ जना भारतीय पर्यटक फसेका छन् । शनिबार भएको हिमपातपछि उनीहरू सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार प्याली कोल्ली, ममता हल्दार र जजला त्रिवेदी कुमारलगायत ६ जना भारतीय पर्यटक हिमपातका कारण उक्त क्षेत्रमा फसेका हुन् ।
घटनाबारे शनिबार राति ९ बजे जिल्ला प्रशासन कार्यालय, दुनै डोल्पामा जानकारी प्राप्त भएको थियो । घटनाको जानकारी पाएपछि जिल्ला सुरक्षा समितिको बैठक बसेर पर्यटकहरूको उद्धारका लागि आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । उनीहरूको उद्धारका लागि हेलिकप्टर परिचालन गर्न आवश्यक समन्वयसमेत भइरहेको छ ।
सञ्चार सम्पर्कमा समस्या भएका कारण फसेका सबै पर्यटकको विस्तृत विवरण प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।