पहिरोले अवरुद्ध बेनी–दरवाङ सडक सञ्चालनमा
म्याग्दीको पश्चिमी भेगका तीन स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडक एक दिनपछि आज दिउँसोदेखि सञ्चालनमा आएको छ ।
बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतमा शुक्रबार राति पहिरो खसेपछि २४ किलोमिटर दूरीको उक्त सडकमा सिधा यातायात अवरुद्ध भएको थियो । पूर्वाधार विकास कार्यालय म्याग्दीले ब्याकुहोलोडर परिचालन गरी पहिरो पन्छाएपछि यातायात सञ्चालनमा आएको हो ।
पहिरो पन्छाउने जिम्मा पाएको मङ्गला कन्स्ट्रक्सनका प्रतिनिधि चक्रलाल पाण्डेले तत्कालका लागि सडक मर्मत गरी सञ्चालनमा ल्याइए पनि जोखिम कायमै रहेको बताए । उनका अनुसार फापरखेतमा निरन्तर पहिरो खस्ने भएकाले जुनसुकै समयमा आवागमन पुनः अवरुद्ध हुन सक्ने सम्भावना छ ।
बेनी–दरवाङ सडक म्याग्दीको पश्चिमी क्षेत्रका मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने प्रमुख सडक हो । यसलाई पश्चिम म्याग्दीको लाइफलाइनका रूपमा लिने गरिन्छ ।
फापरखेतमा विसं २०५८ मा सडकको मार्ग खोलिएदेखि नै पहिरोको समस्या रहँदै आएको छ । पहिरो नियन्त्रणका लागि विभिन्न प्रयास गरिए पनि समस्या समाधान हुन सकेको छैन ।
पछिल्लो समय यसअघि पहिरो खस्ने गरेको स्थानभन्दा फरक ठाउँमा पहाडको ढिस्को चर्किएर पहिरो खस्न थालेपछि सडकमा आवतजावत थप जोखिमपूर्ण बनेको छ ।