रारा जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुग्यो
मुगुको रारा क्षेत्रमा भएको जिप दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी ललितपुर महानगरपालिका–१५ निवासी ५४ वर्षीया अञ्जु थापाको उपचारका क्रममा मृत्यु भएको हो ।
उनको आज काठमाडौंस्थित बिएण्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिए ।
अञ्जुको मृत्युसँगै दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । यसअघि घटनास्थलमै तीन जनाको मृत्यु भएको थियो ।
दुर्घटनामा घाइते भएका जिप चालक ललितपुर–१५ निवासी ५८ वर्षीय कञ्चन थापा र अञ्जुलाई थप उपचारका लागि आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत हुँदै काठमाडौंस्थित बिएण्डबी अस्पताल पुर्याइएको थियो । चालक कञ्चनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घटनास्थलमै मृत्यु भएका काठमाडौं कलङ्की निवासी ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश पिडारी र ५० वर्षीय पूर्णकुमार थापाको शव नेपाली सेनाको हेलिकप्टरबाट मुगुबाट सुर्खेत ल्याइएको थियो । त्यसपछि शववाहनमार्फत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
काठमाडौंबाट रारा तालतर्फ आउँदै गरेको बागमती प्रदेशको बा१७च १८६४ नम्बरको हाइलक्स गाडी आइतबार साँझ मुगुको छायाँनाथ रारा नगरपालिका–७, टोप्लास्थित रारा जाने सडकको जिमाकाँरा भिरबाट करिब ६०० मिटर तल खसेर दुर्घटना भएको थियो ।