बझाङमा अटो रिक्सा दुर्घटना : तीन जनाको मृत्यु, एक जना बेपत्ता
बझाङमा अटो रिक्सा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन्। आइतबार बिहान करिब १०ः२० बजे बुङ्गल नगरपालिका–१० स्थित टुमेडामा अटो रिक्सा दुर्घटना भएको हो। टुमेडा गाउँबाट बुङ्गल नगरपालिका–११ को हिनगडा बजारतर्फ जाँदै गरेको नम्बर नखुलेको अटोको ब्रेक फेल भएपछि सडकबाट करिब ९०० मिटर तल भीरमा खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा अटोमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा बुङ्गल नगरपालिका–१० की ३५/४० वर्षीया राजमती महरा, १५/१६ वर्षीया तारा महरा र ५/६ वर्षीया डल्ली महरा रहेका छन्।
प्रारम्भिक जानकारीअनुसार अटोमा चारदेखि पाँच जना सवार थिए। दुर्घटनापछि एक बालक बेपत्ता भएका छन् भने घाइतेहरूको उद्धार कार्य भइरहेको छ।
इलाका प्रहरी कार्यालय बुङ्गलका प्रहरी सहायक निरीक्षक वीरबहादुर ठगुन्नाका अनुसार बेपत्ता बालकको खोजी तथा उद्धार कार्य जारी रहेको छ। दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।