सुडानमा सेनाको ड्रोन आक्रमण : चार बालबालिकासहित १५ जनाको मृत्यु
सुडानको पश्चिम कोर्डोफान राज्यस्थित एक गाउँमा सेनाले गरेको ड्रोन आक्रमणमा फुटबल खेलिरहेका चार बालबालिकासहित १५ जनाको मृत्यु भएको छ। आइतबार अबु कल्ब गाउँमा भएको उक्त आक्रमणमा अन्य केही घाइते भएका छन् भने कैयौँ घरमा आगलागी भएको छ।
स्थानीय अधिकार अनुगमन संस्था ‘कोर्डोफान अब्जर्भेटरी’का अनुसार सेनाले एउटै क्षेत्रमा दुईपटक ड्रोन आक्रमण गरेको थियो। पहिलो आक्रमण गाउँको सार्वजनिक चोकमा गरिएको थियो, जहाँ बालबालिकाहरू फुटबल खेलिरहेका थिए। दोस्रो आक्रमण स्थानीय बासिन्दाका घरहरूमा गरिएको थियो, जसका कारण धेरै घरमा आगलागी भएको संस्थाले जनाएको छ।
सुरक्षा जोखिमका कारण नाम सार्वजनिक नगर्न आग्रह गरेका एक जीवित व्यक्तिले स्याटेलाइट इन्टरनेटमार्फत घटनाबारे जानकारी दिएका थिए। उनका अनुसार आक्रमणमा १५ जनाको ज्यान गएको छ। मृत्यु हुनेमध्ये नौ जना उनका आफन्त रहेका छन्।
उनले युद्धका क्रममा यसअघि नै बुबा गुमाएका दुई बालबालिकासमेत पछिल्लो आक्रमणमा मारिएको बताएका छन्।
सन् २०२३ अप्रिलदेखि सुडानी सेना र अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) बीच जारी युद्धका क्रममा पश्चिम कोर्डोफान क्षेत्रमा पनि भीषण संघर्ष हुँदै आएको छ। सेनाले आरएसएफको नियन्त्रणमा रहेका क्षेत्र पुनः कब्जा गर्ने प्रयासस्वरूप उक्त क्षेत्रमा प्रत्याक्रमण गरिरहेको छ।
सहायता क्षेत्रमा कार्यरत अधिकारीहरूको अनुमानअनुसार सुडानमा जारी युद्धका कारण अहिलेसम्म दुई लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। युद्धले विश्वकै ठूलो भोकमरी तथा विस्थापन संकटसमेत निम्त्याएको छ।
यसैबीच, संयुक्त राष्ट्रसङ्घले युद्धरत दुवै पक्षले व्यापक रूपमा ड्रोन प्रयोग गरिरहेको भन्दै पटक–पटक चिन्ता व्यक्त गर्दै आएको छ। राष्ट्रसङ्घका अनुसार सन् २०२६ को पहिलो छ महिनामा मात्रै ड्रोन आक्रमणमा एक हजार १०० भन्दा बढी मानिसको मृत्यु भएको छ।
यस वर्ष बालबालिकासम्बन्धी भएका सयौँ हताहतीमध्ये करिब दुई तिहाइको मृत्यु वा घाइते हुनुमा ड्रोन आक्रमण जिम्मेवार रहेको राष्ट्रसङ्घले जनाएको छ।