सप्तरीमा जङ्गली हात्तीको आक्रमणबाट ७० वर्षीय वृद्धको मृत्यु
सप्तरीमा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा सुरूङ्गा नगरपालिका–४ का ७० वर्षीय गोपी चौधरी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेका अनुसार बाख्रा खोज्न गोठतर्फ जाने क्रममा चौधरीलाई जङ्गली हात्तीले आक्रमण गरेको थियो।
हात्तीको आक्रमणबाट घाइते भएका चौधरीलाई उपचारका लागि प्रादेशिक अस्पताल लहान लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रवक्ता घिमिरेले जानकारी दिए।
स्थानीयका अनुसार चौधरी जङ्गलनजिक पुगेपछि हात्ती कराएको आवाज सुनेर हात्तीले जस्तै आवाज निकाल्दै कराएका थिए। त्यसपछि हात्तीले उनलाई लखेटेर आक्रमण गरेको स्थानीयको भनाइ छ।
घटनापछि आसपासका क्षेत्रमा त्रास फैलिएको छ। जङ्गली हात्तीको बढ्दो आवागमनले स्थानीय बासिन्दाको सुरक्षामा चुनौती थपिएको छ।