ब्राउन सुगरसहित झापा र सुनसरीबाट तीन जना पक्राउ
प्रहरीले लागूऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ। झापा र सुनसरी जिल्लाका विभिन्न स्थानबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा झापाको शिवसताक्षी नगरपालिका–१ का २४ वर्षीय बुद्धिराज लिम्बु र २७ वर्षीय कृष्णप्रसाद खरेल रहेका छन्।
प्रहरीका अनुसार कात्तिक २८ गते झापाको झापा गाउँपालिका–५ स्थित खादा बस्तीमा इलाका प्रहरी कार्यालय कुमरखोद र प्रहरी चौकी शरणामतिबाट खटिएको संयुक्त प्रहरी टोलीले प्र ०१–०१–०१५ प ८५६७ नम्बरको मोटरसाइकल जाँच गरेको थियो।
शङ्का लागेर गरिएको चेकजाँचका क्रममा लिम्बु र खरेलको साथबाट १६ ग्राम ५४० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।
त्यसैगरी, सुनसरीको इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले झापाको दमक नगरपालिका–४ का २७ वर्षीय नारायण प्रसाईँलाई पनि पक्राउ गरेको छ।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार प्रसाईँको साथबाट १ ग्राम ४१० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ। पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।