मोटरसाइकलको लक तोडेर भाग्दै गरेका युवक पक्राउ
पार्किङ गरी राखिएको मोटरसाइकलको लक तोडेर डोर्याउँदै भाग्दै गरेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पर्साको वीरगञ्ज महानगरपालिका–१६ स्थित लिंकरोडबाट बाराको निजगढ नगरपालिका–११ निवासी २७ वर्षीय राकेश चौधरी पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–२४ रामगढवाका ३० वर्षीय विकासकुमार कुशवाहाको नाममा दर्ता रहेको मधेस प्रदेश ०३–०३५ प ७१७५ नम्बरको २२० सीसीको रातो–कालो पल्सर मोटरसाइकल सडकछेउमा पार्किङ गरिएको थियो ।
सोमबार बिहान करिब ९ः३० बजे मोटरसाइकलको लक तोडेर डोर्याउँदै भागिरहेको अवस्थामा वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको टोलीले चौधरीलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।
प्रहरी प्रवक्ता एवं डीएसपी चक्रबहादुर मल्लका अनुसार पक्राउ परेका चौधरीलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अनुसन्धान भइरहेको छ ।