गणेशमान सिंहको ११२औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौँ– २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर एवं प्रजातन्त्रका सेनानी गणेशमान सिंहको ११२औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मिएका सिंहले राणा शासन अन्त्यदेखि प्रजातन्त्र पुनःस्थापनासम्मका आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
२०४६ सालको जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रह अस्वीकार गर्दै कृष्णप्रसाद भट्टराईलाई अघि सारेका सिंह नेपाली राजनीतिमा त्याग र साहसका प्रतीकका रूपमा चिनिन्छन् ।
उनको २०५४ साल असोज २ गते निधन भएको थियो । जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेसका विभिन्न समूह, भ्रातृ तथा शुभेच्छुक संस्थाले कार्यक्रम आयोजना गरेका छन् ।