जङ्गली हात्तीको आक्रमणबाट कञ्चनपुरमा ६० वर्षीया महिलाको मृत्यु
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ मा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय झलारीका अनुसार गए राति जङ्गली हात्तीको आक्रमणमा परी स्थानीय ६० वर्षीया लक्ष्मी डगौंराको घटनास्थलमै मृत्यु भएको हो।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पर्ने तारापुर शिविरमा हात्तीको बथान पसेर उनको घर भत्काउनुका साथै उनलाई कुल्चिएको स्थानीयले बताएका छन्।
घरमा लक्ष्मी र उनका श्रीमान् मोहन डगौंरा सुतिरहेका बेला हात्तीको बथानले आक्रमण गरेको थियो। श्रीमान् मोहन भने भागेर ज्यान जोगाउन सफल भएका छन्।
घटनापछि नेपाली सेना, नेपाल प्रहरी र निकुञ्ज प्रशासनको टोली घटनास्थलमा पुगेको छ।