कृष्णनगरका इन्जिनियरविरुद्ध डेढ लाख घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको कृष्णनगर नगरपालिकाका करार इन्जिनियर प्रदीपकुमार चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सडक निर्माण कार्य सम्पन्न भएपछि अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुस लिएको आरोपमा आयोगले शुक्रबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
आयोगका अनुसार चौधरीले आफ्नो पदको दुरुपयोग गर्दै विभिन्न बहाना बनाई सेवाग्राहीलाई दुःख हैरानी दिने तथा कमिसन र घुस माग्ने गरेका थिए।
भुक्तानीका विषयमा अनुचित लेनदेन भएको, ह्वाट्सएपमा कुराकानी भएको र मोबाइल बैंकिङमार्फत रकम पठाइएको प्रमाणसहित उजुरी परेपछि आयोगले अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानका क्रममा चौधरीले सेवाग्राहीबाट कुल १ लाख ५० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको आयोगको दाबी छ। उनले ५० हजार रुपैयाँ चेकमार्फत र एक लाख रुपैयाँ फोनपेबाट बैंक खातामा लिएको पाइएको आयोगले जनाएको छ।
आयोगले चौधरीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा डेढ लाख रुपैयाँ बिगो कायम गरेको छ। उक्त बिगो बराबरको जरिवाना र कसुरअनुसार कैद सजायको मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगका सहायक प्रवक्ता पर्वत गिरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।