पूर्वमुख्यसचिव अर्याललाई म्याद थपका लागि सरकारी वकिल कार्यालय लगियो
काठमाडौं । मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको ठगी प्रकरणमा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई म्याद थपको प्रक्रिया अघि बढाउन सरकारी वकिल कार्यालय लगिएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अर्याललाई बिहीबार नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको थियो ।
पक्राउपछि थप अनुसन्धानका लागि काठमाडौं ल्याइएका उनलाई शुक्रबार म्याद थपको प्रक्रिया अघि बढाउन सरकारी वकिल कार्यालयमा उपस्थित गराइएको हो ।
सरकारी वकिल कार्यालयको प्रक्रिया पूरा भएपछि अर्याललाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने तयारी गरिएको छ ।
अर्यालमाथि मलेसिया जाने नेपाली श्रमिकबाट स्वास्थ्य परीक्षणका नाममा अतिरिक्त शुल्क असुल गरी रकम विदेश पठाइएको भनिएको प्रकरणमा अनुसन्धान भइरहेको छ ।