बोडे होल्डिङ सेन्टरका सुकुम्बासी परिवारलाई सरकारले रोक्यो खाना, बालबालिका विद्यालय जानबाट वञ्चित
भक्तपुर । भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासी परिवारलाई सरकारले शुक्रबारदेखि खाना दिन बन्द गरेको छ। यसअघि शान्ति सेवा गृहले उपलब्ध गराउँदै आएको खाना शुक्रबारदेखि रोकिएको हो।
सरकारले सूचना जारी गर्दै शुक्रबारदेखि होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको थियो। खाना उपलब्ध हुन छाडेपछि केही परिवारले आफैँ व्यवस्था गरेर खाना खाएका छन् भने केही भोकै बस्न बाध्य भएका छन्।
खानाको व्यवस्था नहुँदा होल्डिङ सेन्टरमा रहेका बालबालिकासमेत विद्यालय जानबाट वञ्चित भएका छन्। त्यहाँ विद्यालय जाने उमेरका ११ जना बालबालिका रहेकामा शुक्रबार तीन जना मात्रै विद्यालय गएको कृष्णमाया राइगाइले बताइन्। बाँकी आठ जना भने खाना र बसोबासको अन्योलका कारण विद्यालय जान नसकेको उनको भनाइ छ।
होल्डिङ सेन्टरमा बस्दै आएका सुमन चौधरीले पनि सरकारले खाना दिन बन्द गरेपछि केही परिवार आफैँले व्यवस्था गरेको र केही भोकै रहेको बताए।
काठमाडौं उपत्यकाका नदी किनारका बस्तीबाट हटाइएका परिवारलाई बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा राखिएको थियो। तर, जिल्ला प्रशासन कार्यालय भक्तपुरले बुधबार लिखित सूचना टाँस गरी मंसिर ११ गते दिउँसो २ बजेसम्म होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको थियो।
यसअघि मंसिर २ गते नै प्रशासनले एक साताभित्र ठाउँ छाड्न मौखिक निर्देशन दिएको थियो। केही परिवारले ठाउँ छाडे पनि बोडेमा अझै १९ परिवारका ५९ जना बसिरहेका छन्।
प्रशासनले भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५२ (क) र ५२ (ख) अनुसार गरिएको छानबिनका क्रममा सात परिवार भूमिहीन नभएको जनाएको छ। तीन पुस्ताभित्र जग्गाजमिन देखिएको वा २०६६ माघ २८ गतेपछि जग्गा कारोबार गरेको पाइएमा भूमिहीन नमानिने प्रशासनको भनाइ छ।
बाँकी १२ परिवारको हकमा भने जग्गाजमिन नदेखिएकाले भूमिहीनको निस्सा दिने र उनीहरूको स्थायी ठेगाना भएका जिल्लाका भूमि समस्या समाधान समितिमार्फत जग्गाको अवस्था यकिन गर्ने प्रक्रिया अघि बढाइने बताइएको छ।
प्रशासनले भूमिहीन देखिएका परिवारलाई होल्डिङ सेन्टर छाडेर आफ्नो स्थायी ठेगाना भएको जिल्लामा जान आग्रह गरेको छ। त्यसका लागि एक महिनाको घरभाडाबापत १५ हजार रुपैयाँ र यसअघि व्यवस्थापनका लागि तोकिएको २५ हजार रुपैयाँसमेत उपलब्ध गराइएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले बताएका छन्।
तर, होल्डिङ सेन्टरमा बसिरहेका परिवारले लालपुर्जा वा स्थायी बसोबासको व्यवस्था नभएसम्म ठाउँ नछाड्ने अडान राख्दै आएका छन्। प्रशासनले दिएको समयसीमा नजिकिँदै गर्दा उनीहरू कहाँ जाने र कसरी गुजारा चलाउने भन्ने अन्योलमा छन्। खाना उपलब्ध गराउनसमेत बन्द गरिएपछि उनीहरूको दैनिकी थप कष्टकर बनेको छ।