भेनेजुएलामा विपक्षी नेताहरूलाई चुनाव लड्न रोक्ने कानुन खारेज गरिने
काठमाडौं । भेनेजुएलाले विपक्षी नेताहरूलाई सार्वजनिक पदमा उम्मेदवारी दिनबाट रोक्ने कानुन खारेज गर्ने भएको छ । भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जर्ज रोड्रिगेजले बिहीबार यस्तो घोषणा गरेका हुन् ।
सन् २०२४ मा पारित उक्त कानुनले देशविरुद्ध प्रतिबन्ध लगाउन प्रचार वा समर्थन गर्ने व्यक्तिलाई लक्षित गरेको थियो । विपक्षी दलहरूले भने यसलाई राजनीतिक उत्पीडनका लागि प्रयोग गर्न सकिने कानुनका रूपमा व्याख्या गर्दै आएका थिए ।
‘यो कानुन भेनेजुएला गुज्रिरहेको विशेष परिस्थिति र विशेष क्षणका लागि ल्याइएको थियो,’ रोड्रिगेजले भने ।
विवादित निर्वाचनपछि तत्कालीन राष्ट्रपति निकोलस मादुरोले व्यापक धाँधलीको आरोपबीच जित हासिल गरेको दाबी गरेका बेला उक्त कानुन पारित गरिएको थियो ।
गत जनवरीमा अमेरिकी सेनाले मादुरोलाई नियन्त्रणमा लिएर अमेरिकी अदालतमा मुद्दा चलाएपछि जर्ज रोड्रिगेजकी बहिनी डेल्सी रोड्रिगेजको नेतृत्वमा अन्तरिम सरकार सञ्चालन भइरहेको छ । त्यसयता अमेरिकाको समर्थन प्राप्त अन्तरिम सरकारले वासिङ्टनले छनोट गरेका विपक्षी समूहहरूसँग राजनीतिक संक्रमणका विषयमा वार्ता गरिरहेको छ ।
जर्ज रोड्रिगेजका अनुसार उक्त वार्तामा केही कानुन पुनरावलोकन गर्ने सहमति भएको थियो । खारेज गर्न लागिएको कानुन पनि त्यही सहमतिमा समेटिएको थियो ।
अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले भेनेजुएलामा निकट भविष्यमा स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउने प्रतिबद्धता जनाएकी छन् । तर, निर्वाचनको मिति भने तय गरिएको छैन ।
यसैबीच, विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना माचाडो गत महिना निर्वासनबाट फर्किएपछि भेनेजुएलाको राजनीतिमा नयाँ हलचल देखिएको छ ।
माचाडोले सन् २०२३ मा विपक्षी दलको प्राथमिक निर्वाचन जितेर सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा मादुरोविरुद्ध प्रतिस्पर्धा गर्ने तयारी गरेकी थिइन् । तर, कानुनी अवरोधका कारण उनलाई उम्मेदवार बन्न रोक लगाइएको थियो ।
त्यसपछि उनको दलले कम परिचित कूटनीतिज्ञ एडमन्डो गोन्जालेज उरुतियालाई उम्मेदवार बनाएको थियो । माचाडो संक्रमणकालीन राजनीतिक वार्ताबाट बाहिर रहे पनि आगामी निर्वाचन भएमा उनी उम्मेदवार बन्न सक्ने अनुमान गरिएको छ ।