वासिङ्टनमा ‘डर्टी बम’ आक्रमणको योजना बनाइरहेको इरानमाथि अमेरिकी गुप्तचरको आशङ्का
इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका उच्च अधिकारीलाई लक्षित गर्दै राजधानी वासिङ्टन डिसीमा रेडियोधर्मी पदार्थ मिसाइएको विस्फोटक (डर्टी बम) वा रासायनिक हतियारबाट आक्रमण गर्ने सम्भावित योजना बनाइरहेको अमेरिकी गुप्तचर निकायले सूचना प्राप्त गरेको छ ।
सीएनएनका अनुसार यस विषयमा जानकार सात जना अमेरिकी अधिकारीले इरानको सम्भावित योजनाबारे जानकारी दिएका हुन् । यद्यपि इरानसँग यस्तो आक्रमण गर्ने क्षमता छ वा छैन भन्ने विषयमा अमेरिकी अधिकारीहरूबीच अझै बहस भइरहेको छ ।
गुप्तचर स्रोतका अनुसार यो तत्काल आक्रमण गर्ने तयारीभन्दा पनि भविष्यमा आवश्यक परेको अवस्थामा प्रयोग गर्न सकिने विकल्प तयार पार्ने प्रयास हुन सक्छ । सूचनामा सम्भावित आक्रमणका स्थान र लक्ष्यसमेत उल्लेख भएपछि अमेरिकी अधिकारीहरूले सुरक्षा सतर्कता बढाएका छन् ।
तर ह्वाइट हाउसकी प्रवक्ता लरेन बिसले अमेरिकाले सम्भावित सबै खतरामाथि निगरानी गरिरहेको भए पनि हाल अमेरिकी भूमिमा आक्रमणको कुनै विश्वसनीय खतरा नरहेको बताएकी छन् ।
यसैबीच, सम्भावित सुरक्षा चुनौतीका कारण अमेरिकी गोप्य सेवाले अर्थमन्त्री स्कट बेसेन्टलाई गत साता सैन्य आवासमा सारेको थियो ।
के हो डर्टी बम?
डर्टी बम सामान्य विस्फोटक पदार्थमा रेडियोधर्मी सामग्री मिसाएर बनाइने हतियार हो । यसले विस्फोटसँगै रेडियोधर्मी कण फैलाएर आसपासका क्षेत्रमा प्रदूषण सिर्जना गर्न सक्छ । आणविक बमभन्दा यसको विनाशकारी क्षमता कम भए पनि यसले जनस्वास्थ्य र वातावरणमा गम्भीर असर पुर्याउन सक्छ ।