कावासोती बस दुर्घटना अपडेट : घाइतेको सङ्ख्या ३३ पुग्यो
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती नगरपालिका–११ स्थित लोकाहामा यात्रुवाहक बस दुर्घटना हुँदा घाइते हुनेको सङ्ख्या ३३ पुगेको छ।
धनगढीबाट काठमाडौं आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस सोमबार बिहान करिब ६ः४० बजे अनियन्त्रित भई सडकमा पल्टिएको हो।
प्रहरीका अनुसार चालकले नियन्त्रण गुमाउँदा भएको दुर्घटनामा बसमा सवार ३३ जना यात्रु सामान्य तथा मध्यम घाइते भएका छन्। दुर्घटनालगत्तै २५ जना घाइते भएको विवरण प्राप्त भए पनि पछिल्लो विवरणअनुसार घाइतेको सङ्ख्या बढेर ३३ पुगेको हो।
प्रहरीका अनुसार दुर्घटनाका बेला बसमा चालकसहित ४१ जना सवार थिए। घाइते सबैको पहिचानसमेत खुलिसकेको छ।
दुर्घटनामा घाइते भएकामध्ये एक जनालाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएको छ भने बाँकी ३२ जनालाई मध्यविन्दु प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ। दुर्घटनाबारे प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।