सिमेन्ट बोर्ड उद्योगमा मेसिनले च्यापिएर मजदुरको मृत्यु
रौतहटको फतुवा विजयपुर नगरपालिकास्थित सिमेन्ट बोर्ड उद्योगमा मेसिनले च्यापिएर एक मजदुरको मृत्यु भएको छ । फतुवा विजयपुर नगरपालिका–६ पेटभर्वास्थित एभरेस्ट फाइबर सिमेन्ट बोर्ड प्रालिमा सोमबार बिहान काम गर्ने क्रममा मेसिनले च्यापिएर महोत्तरीको मनरासिसवा नगरपालिका–३ सनौल निवासी ३० वर्षीय रमेश चौधरी गम्भीर घाइते भएका थिए ।
उद्योगमा रहेको थ्री स्टेसन मेसिनले च्यापिएपछि उनलाई उपचारका लागि बाराको परवानीपुरस्थित एलएस न्युरो अस्पताल लगिएको थियो । अस्पताल पुर्याइएका चौधरीलाई चिकित्सकले दिउँसो १ बजेर ६ मिनेटमा मृत घोषणा गरेका थिए । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय लक्ष्मिनिया विजयपुर र सन्तपुरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।
प्रहरीका अनुसार मृतकको शव अस्पतालमै राखिएको छ । घटनाको कारण र परिस्थितिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।