रौतहटमा ट्याक्टरको ठक्करबाट प्रहरी जवानको मृत्यु
रौतहटमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक प्रहरी जवानको मृत्यु भएको छ भने उनकी श्रीमती गम्भीर घाइते भएकी छन् ।
बिहीबार साँझ करिब ६ः३० बजे फतुवा विजयपुर नगरपालिका–११ स्थित राङ्गी टोलमा पर्ने दुधिअवा–बालचनपुर सडकखण्डमा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार दुधिअवाबाट बालचनपुरतर्फ जाँदै गरेको ना २ त ४७८६ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०५३ प ८२०२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा मोटरसाइकल चालक गुजरा नगरपालिका–४ पोखरभिन्डा निवासी ३५ वर्षीय प्रहरी जवान सुभाष चौधरी र मोटरसाइकलको पछाडि सवार उनकी ३० वर्षीया श्रीमती प्रहरी जवान निशा खड्का घाइते भएका थिए ।
दुवैलाई एम्बुलेन्समार्फत उपचारका लागि वीरगन्जस्थित बयोधा अस्पताल लगिएको थियो । उपचारकै क्रममा बिहीबार राति ८ः१० बजे चिकित्सकले सुभाषलाई मृत घोषणा गरेका थिए । उनकी श्रीमती निशाको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ ।
मृतक चौधरी बारा जिल्लाको इलाका प्रहरी कार्यालय सिम्रौनगढमा कार्यरत थिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डीएसपी वसन्त गौतमले शुक्रबार जारी गरेको विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।