नक्कली सवारी दर्ता किताब बनाएर ठगी गर्न खोज्ने एक जना पक्राउ
नक्कली सवारी दर्ता किताब (ब्लुबुक) तयार गरी चारपाङ्ग्रे सवारीसाधन बिक्री वितरणमार्फत ठगी गर्न खोजेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ घर भई हाल काठमाडौं महानगरपालिका–२६, नयाँ बसपार्क बस्ने ३१ वर्षीय भोजराज थापा मगर रहेका छन् ।
प्रहरीका अनुसार लिखत कीर्ते गरी नक्कली सवारी दर्ता किताब तयार पारेर चारपाङ्ग्रे सवारीसाधन बिक्री वितरण गर्न लागेको भन्ने सूचना प्राप्त भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
प्रहरी टोलीले काठमाडौं महानगरपालिका–२६, मित्रनगरबाट उनलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका थापा मगरलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।