कोशी ब्यारेजको विकल्पमा सप्तरी–सुनसरी जोड्ने नयाँ पुल बन्ने
सप्तरीको कञ्चनपुरदेखि सुनसरीको राजाबाससम्म कोशी नदीमा तीन किलोमिटर लामो नयाँ पुल निर्माण हुने भएको छ। कोशी ब्यारेजको विकल्पका रूपमा निर्माण गर्न लागिएको पुलको अनुमानित लागत ४३ अर्ब रुपैयाँ रहेको छ।
सडक विभाग आयोजना निर्देशनालयका निर्देशक चुडाराज ढकालका अनुसार एसियाली विकास बैंक (एडीबी) को सहयोगमा निर्माण हुने परियोजनाअन्तर्गत पुलसँगै ४३ किलोमिटर नयाँ सडकसमेत निर्माण गरिनेछ।
नयाँ पुल सञ्चालनमा आएपछि पूर्व–पश्चिम राजमार्गको यात्रा दूरी १४ किलोमिटरले घट्नेछ। अहिले पुल तथा सडक निर्माणका लागि आवश्यक प्राविधिक र प्रक्रियागत तयारी भइरहेको ढकालले जानकारी दिए।
परियोजना क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्षसँग जोडिएकाले वातावरणीय तथा कानुनी स्वीकृतिसम्बन्धी केही प्रक्रिया पूरा गर्न बाँकी रहेको छ।
कोशी ब्यारेज पुरानो हुँदै गएको र सवारी चाप बढ्दै गएकाले प्रस्तावित नयाँ पुललाई पूर्वी नेपालको यातायात व्यवस्थापनका लागि महत्त्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको छ।