कान्ति लोकमार्गमा राति सवारी आवागमन बन्द, दुई दिन लागू हुने निर्णय
बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावका कारण मकवानपुरमा निरन्तर वर्षा भइरहेपछि कान्ति लोकमार्गमा रातिको समयमा सवारी आवागमन बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले सम्भावित सवारी दुर्घटना तथा बाढीपहिरोबाट हुन सक्ने मानवीय र भौतिक क्षति न्यूनीकरण गर्ने उद्देश्यले यस्तो निर्णय गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलद्वारा शुक्रबार जारी सूचनाअनुसार कात्तिक १३ र १४ गते दुई दिन कान्ति लोकमार्गमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको छ ।
प्रशासनका अनुसार कात्तिक १२ गतेदेखि जिल्लामा निरन्तर वर्षा भइरहेको छ । चक्रवातको प्रभावले थप वर्षा हुन सक्ने र यसबाट सडक तथा राजमार्गमा बाढीपहिरोको जोखिम बढ्ने आकलन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले जोखिमयुक्त समयमा यात्रा नगर्न तथा प्रशासनको निर्णयअनुसार मात्रै सवारीसाधन सञ्चालन गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ ।
साथै, कान्ति लोकमार्ग हुँदै यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई जारी सूचनाको पूर्ण पालना गर्न प्रशासनले अनुरोध गरेको छ ।