सिरहामा नक्कली नोटसहित दुई जना पक्राउ
सिरहामा नक्कली नेपाली नोटजस्तो देखिने २५ हजार ५०० रुपैयाँसहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार शनिबार राति करिब ११ बजे सिरहा नगरपालिका–७ स्थित महावीर चोकदेखि शिव चोक जाने हुलाकी सडकखण्डमा शंकास्पद रूपमा हिँडिरहेका दुई जनालाई चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त रकम बरामद भएको हो।
पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका–८ निवासी ३५ वर्षीय मोहम्मद मुस्तुफा हुसेन र ३२ वर्षीय समिर मियाँ रहेका छन्।
प्रहरीका अनुसार उनीहरूको साथबाट ५०० दरका तीन थान र एक हजार दरका २४ थान गरी जम्मा २५ हजार ५०० रुपैयाँ बराबरका नक्कली नोटजस्तो देखिने रकम बरामद गरिएको छ। बरामद रकमसहित दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर पालले बरामद रकम नक्कली नोटजस्तो देखिएको जानकारी दिँदै घटनाबारे थप अनुसन्धान भइरहेको बताएका छन्।