अनलाइन स्क्यामिङ सेन्टरमा ठगिएका ८६० नेपालीको उद्धार
दक्षिण–पूर्वी एसियाली मुलुकहरूमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा फसेका ८६० जना नेपाली नागरिकको उद्धार गरिएको छ ।
परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा कम्बोडिया, म्यानमार, लाओस र थाइल्यान्डको सीमा क्षेत्रमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरबाट हालसम्म ८६० जना नेपालीको उद्धार गरिएको जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार अनलाइन ठगीमा परी नेपाली नागरिक अलपत्र पर्ने क्रम अझै पूर्ण रूपमा रोकिएको छैन । पीडित तथा उनीहरूका आफन्तहरू उद्धारका लागि परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभाग र सम्बन्धित नेपाली दूतावासहरूको सम्पर्कमा आइरहेका छन् ।
सम्पर्कमा आएका अलपत्र नेपाली नागरिकलाई सुरक्षित रूपमा उद्धार गरी स्वदेश फर्काउन सम्बन्धित निकाय तथा देशहरूसँग आवश्यक समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले वैदेशिक रोजगारी तथा अन्य अवसरको नाममा दिइने झुटा प्रलोभनमा नपर्न र गैरकानुनी गतिविधिमा संलग्न नहुन नेपाली नागरिकलाई आग्रह गरेको छ ।
विशेषगरी अनलाइनमार्फत आकर्षक रोजगारीको प्रस्ताव गर्ने गिरोहबाट सतर्क रहन र विदेश जानुअघि सम्बन्धित निकायबाट आवश्यक जानकारी तथा विवरण पुष्टि गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।