धरानमा भन्सार छलीका सामानसहित तीन जना पक्राउ
सुनसरीको धरानबाट प्रहरीले भन्सार छली गरी ल्याइएका किराना तथा खाद्यान्न सामग्रीसहित तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले करिब ९ लाख ८२ हजार ५०० रुपैयाँ बराबरका सामान बरामद गरेको जनाएको छ।
इटहरीबाट धरानतर्फ आउँदै गरेको को २ ख १६१८ नम्बरको मिनी ट्रक जाँच गर्ने क्रममा भन्सार छली गरी ल्याइएका सामान फेला परेको हो।
इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी तीनकुनेबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले मिनी ट्रक जाँच गर्ने क्रममा तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–४ का २५ वर्षीय चालक प्रदीपकुमार साह, जहदा गाउँपालिका–१ का ४२ वर्षीय सहचालक भूपेन्द्र राजवंशी र सोही ठाउँका कात्तिक राजवंशी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार बरामद गरिएका सामान, मिनी ट्रक र पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ।