दसैँ–तिहारका लागि असोज २३ देखि अग्रिम बस टिकट बुकिङ खुल्ने
दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सरकारले सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ।
यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले असोज २३ गतेदेखि देशभर लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ सुरु हुने जानकारी दिए।
लगातारको वर्षा तथा बाढीपहिरोका कारण अवरुद्ध भएका मुख्य राजमार्ग तत्काल मर्मतसम्भार गरी यातायात सञ्चालन सहज बनाउने सरकारले प्रतिबद्धता जनाएपछि व्यवसायीहरू टिकट बुकिङ खोल्न सहमत भएका हुन्।
दसैँ, तिहार तथा छठमा ठूलो संख्यामा सर्वसाधारण राजधानीलगायत सहरी क्षेत्रबाट गृहजिल्ला जाने भएकाले यात्रुको चापलाई मध्यनजर गर्दै अग्रिम टिकट बुकिङ खोल्न लागिएको हो।
बैठकमा गृह मन्त्रालय, नेपाल प्रहरी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ तथा उपभोक्तावादी संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो।