काठमाडौंमा प्रहरीको स्वीप अपरेसन, २४ घण्टामा ७५ जना पक्राउ
काठमाडौं उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा कायम गर्ने उद्देश्यले प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ मा ७५ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंका विभिन्न स्थानमा सञ्चालन गरिएको अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा ६० पुरुष, १४ महिला र अन्य एक जना रहेका छन्।
प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार सार्वजनिकस्थल, सार्वजनिक यातायात, सरकारी कार्यालय आसपास तथा भीडभाड हुने क्षेत्रमा विशेष प्रहरी परिचालन गरी अभियान सञ्चालन गरिएको हो।
प्रहरीले सार्वजनिकस्थलमा होहल्ला, हुलहुज्जत, दुर्व्यवहार, चोरी, लुटपाट, बिचौलियाको गतिविधि तथा गुण्डागर्दीमा संलग्न रहेको आशंकामा विभिन्न व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ।
अभियानका क्रममा अदालतबाट दोषी ठहर भई सजाय तोकिएका आठ जना र विभिन्न मुद्दामा अनुसन्धान तथा कानुनी कारबाहीका क्रममा फरार रहेका चार जना प्रतिवादीसमेत पक्राउ परेका छन्।
सार्वजनिकस्थलमा हुने आपराधिक गतिविधि नियन्त्रण, फरार कसुरदारको खोजी तथा नागरिकलाई सुरक्षित वातावरण प्रदान गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।