बाढीपहिरोले पाइपलाइनमा क्षति, बेनी बजारमा खानेपानीको अभाव
बाढीपहिरोले खानेपानीको पाइपलाइनमा क्षति पुर्याएपछि म्याग्दीको बेनी बजारमा खानेपानीको अभाव भएको छ। गत असोज दोस्रो साता आएको बाढीपहिरोले डाँडाखर्क र रिठाखर्कका मुहानबाट पानी ल्याउने १४ किलोमिटर लामो पाइपलाइन क्षतिग्रस्त बनाएको हो।
बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष रमेश गिरीका अनुसार बजारमा प्रतिसेकेन्ड २० लिटरभन्दा बढी पानी आवश्यक पर्ने भए पनि हाल आठ लिटर मात्र आपूर्ति भइरहेको छ। यसबाट करिब २५ हजार जनसङ्ख्या प्रभावित भएको छ।
पानीको अभाव भएपछि स्थानीयवासीले निजी मुहानको पानी प्रयोग गर्न थालेका छन्। संस्थाले अस्थायी पाइपलाइन विस्तार गरी तिहारअघि राहुपारेबाट पानी ल्याउने तयारी गरेको छ।
खानेपानी आयोजना पुनर्निर्माणका लागि तत्काल १४ करोड ७० लाख र दीर्घकालीन योजनाका लागि ७० करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ।