थानकोटबाट करिब ६० केजी चाँदी बरामद, एक जना पक्राउ
काठमाडौंको थानकोटबाट प्रहरीले करिब ६० केजी चाँदी बरामद गरेको छ। भन्सार छलेर चाँदी ल्याएको आरोपमा प्रहरीले भारतीय नागरिक अमन सर्राफलाई पक्राउ गरेको हो।
उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमबार सर्राफको पसल र डेरामा खानतलासी गर्दा चाँदी बरामद गरेको हो। बिहारको रक्सौल घर भएका अमनले थानकोटमा अमन सुनचाँदी पसल सञ्चालन गर्दै आएका थिए।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार उनले मोटरसाइकलमा फल्स बटम बनाएर चाँदी ओसारपसार गर्ने गरेको खुलेको छ।
यसअघि आइतबार अमनका बुवा रमेश कुमार सर्राफ र आमा चन्दा सोनीलाई मकवानपुर प्रहरीले हेटौँडाबाट १४ केजी चाँदीसहित पक्राउ गरेको थियो। उनीहरू पक्राउ परेपछि प्रहरीले अमनलाई पनि नियन्त्रणमा लिएको हो।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीका अनुसार बरामद सामान चाँदी भए–नभएको परीक्षण भइरहेको छ। त्यसको वास्तविक तौलसमेत यकिन गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।