बाढीले बगाएको डाइभर्सन बनाएपछि बीपी राजमार्ग खुल्यो
काठमाडौं । लगातारको वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग सञ्चालनमा आएको छ । रोसी खोलामा आएको बाढीले राजमार्गको अस्थायी ट्र्याक बगाएपछि अवरुद्ध सडकमा डाइभर्सन निर्माण गरी मंगलबारदेखि यातायात सञ्चालनमा ल्याइएको सडक विभागले जनाएको छ ।
विभागका अनुसार बीपी राजमार्गअन्तर्गत मात्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेंसी, कटुन्जे र चौकीडाँडालगायत स्थानमा पहिरो खस्नुका साथै डाइभर्सन बगेपछि सडक अवरुद्ध भएको थियो ।
वर्षा रोकिएसँगै आवश्यक मर्मत तथा डाइभर्सन निर्माण गरी सडक पुनः सञ्चालनमा ल्याइएको हो । अहिले बीपी राजमार्गमा दुईतर्फी रूपमा यातायात सञ्चालन भइरहेको सडक विभागले जनाएको छ ।