रसुवा बाढीपछि सरकारका कामबारे जानकारी गराउन सांसद राईको माग
काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवा बाढीपछि सरकारले गरेका कामकारबाहीबारे जानकारी गराउन माग गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उनले प्राकृतिक प्रकोपपछि सरकारले निर्वाह गर्नुपर्ने जिम्मेवारी र हालसम्म भएका कामकारबाहीबारे सदनलाई जानकारी गराउन सभामुखको ध्यानाकर्षण गराए ।
राईले हालैको वर्षापछि आएको बाढीपहिरोका कारण म्याग्दीस्थित सुरुङमा कार्यरत केही व्यक्ति सम्पर्कविहीन भएको भन्दै उनीहरूको अवस्थाबारे जानकारी सार्वजनिक गर्न पनि माग गरे ।
सम्पर्कविहीन नागरिकको अवस्था बुझ्न तथा सूचना आदानप्रदान सहज बनाउन प्रभावित क्षेत्रमा तत्काल सञ्चार सेवा सुचारु गर्न उनले सरकारको ध्यानाकर्षण गराए ।