परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलंकाका विदेश, वैदेशिक रोजगार तथा पर्यटनमन्त्री विजिथा हेराथबीच द्विपक्षीय भेटवार्ता भएको छ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्युयोर्कमा रहेका मन्त्री खनालले महासभाको साइडलाइनमा श्रीलंकाका समकक्षी हेराथसँग भेटवार्ता गरेका हुन्।
भेटका क्रममा दुवै मन्त्रीले नेपाल–श्रीलंका द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल गरेका थिए। उनीहरूले नेपाल–श्रीलंका मैत्रीपूर्ण तथा सहयोगात्मक सम्बन्धका विभिन्न पक्षमा विचार आदानप्रदान गरेको जनाइएको छ।
सो अवसरमा मन्त्री खनालले नेपालको हालैको विनाशकारी जलवायुजन्य विपद्बाट प्रभावित समुदायप्रति श्रीलंकाले देखाएको सहानुभूति र ऐक्यबद्धताका लागि धन्यवाद दिएका थिए। उनले आर्थिक तथा मानवीय सहायता उपलब्ध गराएकामा श्रीलंका सरकार र त्यहाँका जनताप्रति आभार व्यक्त गरे।
भेटमा दुवै पक्षले विद्यमान द्विपक्षीय संयन्त्रका बैठकहरू नियमित रूपमा आयोजना गर्नुपर्नेमा जोड दिएका थिए। साथै व्यापार, पर्यटन, शिक्षा, संस्कृति, सम्पर्क सञ्जाल तथा जनस्तरको सम्बन्धलगायत आपसी हितका क्षेत्रमा सहकार्य थप विस्तार र सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।