हनी ट्रयापमा पारेर नगद असुलेको आरोपमा युवती पक्राउ
‘हनी ट्रयाप’मा पारेर एक पुरुषबाट नगद तथा जिन्सी सामान असुलेको आरोपमा बाँके प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका–२ घर भई हाल काठमाडौंमा बस्दै आएकी ३० वर्षीया श्रेष्ठ थरकी युवती रहेकी छन्। उनी काठमाडौं महानगरपालिका–१०, सुकेधारामा कोठा भाडामा लिएर बस्दै आएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। प्रहरी प्रवक्ता प्रतितसिंह राठोरका अनुसार श्रेष्ठले बाँकेको बैजनाथ गाउँपालिका–२ का ३२ वर्षीय पुरुषलाई पूर्वयोजना बनाएर माया–प्रेम तथा शारीरिक सम्बन्धको जालमा पारेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
त्यसपछि विभिन्न मुद्दामा फसाइदिने भन्दै डर, त्रास र धाकधम्की दिई ती पुरुषबाट पटक–पटक नगद तथा जिन्सी सामान लिएको प्रहरीको दाबी छ।
प्रहरीले घटनालाई ‘हनी ट्रयाप’मार्फत आपराधिक लाभ लिने कार्यका रूपमा अनुसन्धान गरिरहेको जनाएको छ।
केही समयदेखि फरार रहेकी श्रेष्ठलाई गत असोज ५ गते पक्राउ गरिएको र अनुसन्धानका क्रममा घटना सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।