काभ्रे जीप दुर्घटनामा दुई जनाको मृत्यु, पाँच घाइते
काभ्रे । काभ्रेको खानीखोला गाउँपालिका–१ स्याउथलीमा आज मध्याह्न भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
दुर्घटनामा मृत्यु हुनेमा खानीखोला–२ की २४ वर्षीया अनिता मोक्तान र खानीखोला–४ का ६१ वर्षीय कलकबहादुर माझी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए।
दुर्घटनामा घाइते बनेपा नगरपालिका–१४ का २५ वर्षीय राहुल तामाङ, खानीखोला–३ का २४ वर्षीय प्रदीप जर्गामगर, खानीखोला–५ का बौद्धमान लामा, सिन्धुपाल्चोक चौतारा नगरका धनपति रावल र जीप चालक सिन्धुलीको सुनकोशी गाउँपालिकाका २८ वर्षीय यसबहादुर तामाङलाई हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको छ।
प्रहरीका अनुसार पनौती–तालढुङ्गा भित्री सडकखण्डमा जीप सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटना भएको हो। जीप खानीखोलाबाट बनेपातर्फ आउँदै गरेको अवस्थामा दुर्घटनामा परेको जनाइएको छ।
घाइतेमध्ये बौद्धमान लामा र धनपति रावलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको प्रारम्भिक कारण ब्रेक फेल भएको हुनसक्ने अनुमान गरिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।