‘वेश्यावृत्ति’ शब्द हटाएर ‘यौनजन्य क्रियाकलाप’ राख्न सांसद अधिकारीको सुझाव
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् लिमा अधिकारी आचार्यले प्रस्तावित मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) विधेयक, २०६४ लाई संशोधन गर्न बनेको विधेयक–२०८३ मा ‘वेश्यावृत्ति’ शब्द राखिएकोप्रति आपत्ति जनाएकी छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता वादीले पेश गरेको विधेयकमाथि धारणा राख्दै सांसद अधिकारीले ‘वेश्यावृत्ति’ शब्दको सट्टा ‘यौनजन्य क्रियाकलाप’ शब्द प्रयोग गर्न सुझाव दिइन्।
उनले विधेयकबाट ‘वेश्यावृत्ति’ शब्द हटाएर ‘यौनजन्य क्रियाकलाप’ शब्द राख्नुपर्ने बताइन्।
मानव बेचबिखनमा परेका पीडितलाई ‘पुनःस्थापना’ गर्नुको सट्टा ‘पुनःसमायोजन’ शब्द प्रयोग गर्नु उपयुक्त हुने उनको सुझाव थियो। उनले मानव बेचबिखन नियन्त्रणका लागि सीमा निगरानीलाई प्रभावकारी बनाउन तथा पुनःस्थापना कोषमा पर्याप्त रकम वृद्धि गर्न सरकारसँग माग गरिन्।
सांसद अधिकारीले पछिल्लो समय ललाईफकाई तथा प्रलोभनमा पारेर नाबालिकाको डिम्प बिक्री हुने घटनामा वृद्धि भइरहेको भन्दै राज्य थप संवेदनशील र सचेत हुनुपर्नेमा जोड दिइन्।
मानव बेचबिखन नियन्त्रणका लागि कानुनी सुधारसँगै पीडितको संरक्षण, पुनःसमायोजन र सीमाक्षेत्रमा निगरानीलाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो।