युरिया मल र खैनीसहित भारतमा दुई नेपाली पक्राउ
भारतबाट नेपालतर्फ अवैध रूपमा युरिया मल र खैनी ल्याउँदै गरेको अवस्थामा दुई नेपाली नागरिकलाई भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले पक्राउ गरेको छ।
भारतको बिहारस्थित पूर्वी चम्पारण जिल्लाको सीमावर्ती अगरवा क्षेत्रमा ७१औँ वाहिनी एसएसबीको टोलीले कारबाही गर्दै शुक्रवार साँझ ८५५ किलो युरिया मल, ५० किलो खैनी र चार वटा साइकलसहित दुई जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरक्षेत्र नानसागरा धाटका १८ वर्षीय आदित्य नारायण मुखिया र १९ वर्षीय अमिरखा मुखिया रहेका छन्। उनीहरूलाई सीमा स्तम्भ नम्बर ३६० बाट करिब २०० मिटर भारततर्फबाट नियन्त्रणमा लिइएको हो।
यसैगरी, एसएसबीले सोही सीमाक्षेत्रको बडहरवा बोर्डरमा छुट्टै कारबाही गरी २४ बोरा युरिया मल, एउटा मोटरसाइकल र चार वटा साइकल बरामद गरेको छ। सुरक्षाकर्मीलाई देखेपछि तस्करहरू सामान छाडेर भाग्न खोजे पनि पीछा गरेर भारतीय नागरिक गोपाल रायलाई पक्राउ गरिएको छ।
पक्राउ परेका व्यक्तिहरूसहित बरामद सामग्रीलाई कानुनी कारबाहीका लागि सीमा शुल्क कार्यालय मोतिहारीमा बुझाइएको छ। सीमामा अवैध ओसारपसार बढेपछि सुरक्षाकर्मीले निगरानी थप कडा पारेका छन्।