कञ्चनपुरमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, पैदलयात्री घाइते
कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका–६ सिसैयास्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
सोमबार बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको से ३ प ५२७४ नम्बरको मोटरसाइकलले डडेल्धुराको अजयमेरु गाउँपालिका–५ का २१ वर्षीय यज्ञ ठगुन्नालाई ठक्कर दिएको थियो। ठगुन्नाको टाउकोमा सामान्य चोट लागेको र स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार बेदकोट नगरपालिका–९ सुन्दरपुरका करिब ६० वर्षीय गौरसिंह महरा गम्भीर घाइते भएका थिए। उनलाई महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि धनगढीस्थित टेक केयर अस्पताल पठाइएको थियो।
उपचारकै क्रममा सोमबार बिहान करिब १०ः४० बजे महराको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मोटरसाइकल चालक गगनसिंह महरा मृतक गौरसिंहका छोरा हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।