दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश
काठमाडौं । सर्वोच्च अदालतले दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा विपक्षीहरूका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।
सोमबार न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै यस्तो आदेश जारी गरेको हो।
प्रसाईंकी श्रीमती उमा प्रसाईंले जिल्ला प्रहरी परिसर भक्तपुरसमेतलाई विपक्षी बनाई सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेकी थिइन्। उक्त निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि अदालतले विपक्षीहरूका नाममा म्याद जारी गर्ने निर्णय गरेको हो।
सुनुवाइका क्रममा इजलासले निवेदकको मागबमोजिम आदेश जारी हुन नपर्ने भए त्यसको आधार र कारण खुलाएर लिखित जवाफ पेस गर्न विपक्षीहरूलाई आदेश दिएको छ।
अदालतको आदेशमा आदेश जारी हुन नपर्ने भए आधार र कारण खुलाई आदेश प्राप्त भएको मितिले बाटोको म्यादबाहेक २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न भनिएको छ।
विपक्षीहरूले तोकिएको अवधिभित्र लिखित जवाफ पेस गरेपछि वा म्याद नाघेपछि नियमानुसार मुद्दा पेस गर्नसमेत अदालतले निर्देश गरेको छ।
यसैगरी, सर्वोच्च अदालतले प्रसाईंको घर खानतलासीका क्रममा बरामद भएका सामानहरू पनि पेसीका दिन अदालतमा उपस्थित गराउन आदेश दिएको छ।
निवेदनसाथ संलग्न भदौ ४ गतेको खानतलासी पूर्जीबमोजिम प्रसाईंको घर खानतलासी गर्दा बरामद भएका भनिएका सामानहरू पेसीका दिन लिएर आउन जिल्ला प्रहरी परिसर भक्तपुरका नाममा लेखी पठाउनसमेत अदालतले आदेश दिएको हो।