‘सानो टोकाइ, ठूलो चुनौती’ नारासहित विश्व लामखुट्टे दिवस मनाइँदै
काठमाडौं — लामखुट्टेको टोकाइबाट हुने रोगबारे जनचेतना फैलाउने उद्देश्यले विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने नारासहित विभिन्न कार्यक्रम आयोजना गरी आज मनाइँदै छ।
लामखुट्टेको टोकाइबाट औँलो, डेङ्गु, चिकनगुनिया, कालाजार, स्क्रब टाइफस, हात्तीपाइले तथा जापानिज इन्सेफलाइटिसजस्ता रोग फैलिने गर्छन्। नेपालमा हालसम्म १६८ प्रजातिका लामखुट्टे पहिचान भएको जनाइएको छ।
स्वास्थ्य सेवा विभागका अनुसार गत आर्थिक वर्षमा लामखुट्टेको टोकाइबाट सर्ने विभिन्न रोगबाट करिब १८ हजार ७१० जना प्रभावित भएका थिए। जलवायु परिवर्तनका कारण पछिल्लो समय लामखुट्टे तथा कीटजन्य रोगको जोखिम उच्च हिमाली क्षेत्रसम्म विस्तार हुँदै गएको विभागले जनाएको छ।
कीटजन्य रोग नियन्त्रणका लागि विभागले सातवटै प्रदेशमा प्रयोगशाला स्थापना गरी रोग पहिचान तथा नियन्त्रणसम्बन्धी काम गर्दै आएको छ। किट रोग नियन्त्रण शाखाका प्रमुख डा. गोवर्ण दाहालका अनुसार पछिल्लो समय कीटजन्य रोग ५६ जिल्लामा देखिइसकेको छ।
स्वास्थ्य क्षेत्रका अधिकारीहरूले लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने, घर तथा वरपर पानी जम्न नदिने, झुल प्रयोग गर्ने र लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउन आग्रह गरेका छन्।
जलवायु परिवर्तन र बदलिँदो वातावरणीय अवस्थाका कारण लामखुट्टे तथा त्यसबाट सर्ने रोगको भौगोलिक विस्तार बढ्दै गएकाले रोग नियन्त्रणसँगै जनचेतना अभिवृद्धिलाई समेत प्राथमिकता दिनुपर्ने स्वास्थ्य अधिकारीहरूको भनाइ छ।