नापजाँचको १० वर्षपछि धनुषाका ३१० परिवारले पाए लालपुर्जा
धनुषा — नापजाँच सम्पन्न भएको करिब १० वर्षपछि धनुषाको मिथिला बिहारी नगरपालिका–३ का ३१० परिवारले जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।
नापी कार्यालय धनुषाले साबिक मिथलेश्वर महुवाही गाविसअन्तर्गत वडा नं. १ देखि ९ सम्मका स्ववासी जग्गाको नापजाँच आर्थिक वर्ष २०७२/०७३ मै सम्पन्न गरेको थियो। तर जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून भएपछि पुर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको थियो।
नापी कार्यालय धनुषाका अनुसार विगतमा आयोगबाट नापनक्सा भइसकेका जग्गाको आवश्यक प्रक्रिया पूरा गरी ३१० थान जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो।
लालपुर्जा प्राप्त गरेसँगै लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ३१० परिवारले आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका छन्।
लामो समयदेखि जग्गाको स्वामित्व प्रमाणित गर्ने पुर्जाको प्रतीक्षामा रहेका स्थानीयले लालपुर्जा पाएपछि जग्गासम्बन्धी कानुनी अधिकार सुनिश्चित भएको बताएका छन्।