स्कुटरसहित पानीमा डुबेको अवस्थामा एक जनाको शव फेला
हेटौंडा उपमहानगरापलिका-५ क्याम्पाडाँडामा स्कुटरसहित पानीमा डुबेको अवस्थामा एकजना पुरुषको शव भेटिएको छ । मंगलबार बिहान शव भेटिएपछि प्रहरीले अनुसन्धान सुरू गरेको छ ।
हेटौंडा-५ को माछा प्लाननजिकै एक पुरुषको शव भेटिएपछि त्यहाँबाट निकालेर अनुसन्धान अघि बढाइएको हो ।
मृतक हेटौंडा उपमहानगरपालिका–६, चौघडामा बस्दै आएका बनेपा नगरपालिका-६, नालाका आवास रञ्जितकार रहेको खुलेको छ।
स्थानीयका अनुसार घटनास्थलको प्रारम्भिक अवस्था हेर्दा स्कुटर अनियन्त्रित भई दुर्घटना भएको जस्तो देखिएको छ।
शवसँगै पानीमा डुबेको अवस्थामा नीलो रङको यामाहा रे-जेडआर स्कुटर पनि फेला परेको छ। घटनाको थप विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।