कर्णालीमा नेकपाका तीन मन्त्री नियुक्त हुँदै
कर्णाली प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट आज ३ जना मन्त्री नियुक्त हुँदैछन्। सत्ता साझेदार दल नेकपा एमाले र नेकपाबिच भएको सहमतिअनुरूप नेकपाले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय भाग पाएको छ।
यी तीनवटा मन्त्रालयले आजै मन्त्री पाउने नेकपा स्रोतले जनाएको छ। प्रदेश प्रमुखको कार्यालयका हिरालाल चौधरीका अनुसार ११ बजे शपथका लागि समय मागिएको छ।
यद्यपि अहिलेसम्म मन्त्रीहरूको अन्तिम नामावली भने नआएको उनले बताए। उनले भने, ‘समय मागियो, हामी तयारी गर्दैछौँ, तर हालसम्म कुन मन्त्री को भन्ने लिस्ट आएको छैन।’
नेकपा प्रदेश संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले पनि आजै नेकपाबाट मन्त्री नियुक्त हुने पुष्टि गरे। यद्यपि को-को मन्त्री बन्दैछन् भन्ने विषय उनले खुलाएका छैनन्। हाल विन्दमान विष्ट, जुम्कित लामा र मिलन खड्काको नाम मन्त्रीका लागि चर्चामा रहेको छ।