कास्कीमा एक महिनामा ६७ फरार प्रतिवादी पक्राउ
कास्की प्रहरीले साउन महिनामा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ६७ जना प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ५८ पुरुष र नौ महिला छन्।
प्रहरीका अनुसार उनीहरूबाट आठ वर्ष सात महिना ११ दिन कैद तथा ३७ लाख ९६ हजार ५२० रुपैयाँ बिगो असुल भएको छ। पक्राउ परेकालाई कैद सजाय र जरिवाना असुलका लागि अदालतमा बुझाइएको छ।
चेक अनादर, बिगो लेनदेन, बैंकिङ कसुर, सवारी ज्यान र अभद्र व्यवहारलगायत मुद्दामा दोषी ठहर भई फरार रहेका प्रतिवादी पक्राउ परेका हुन्।
यस्तै, साउनमा कास्कीमा अपराधसम्बन्धी १६८ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये २० जघन्य तथा गम्भीर, १३ महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी, ५३ आर्थिक र ८२ अन्य अपराधका मुद्दा रहेको प्रहरीले जनाएको छ।