रसुवाको बाढीपछि हुम्लाका १० जना सम्पर्कविहीन
हुम्ला — रोजगारी तथा कामको सिलसिलामा रसुवा पुगेका हुम्लाका १० जना व्यक्ति भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका छन्।
जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रवीर शाहीका अनुसार सम्पर्कविहीन हुनेमा आठ पुरुष र दुई महिला रहेका छन्। उनीहरू रसुवाको उत्तरी सीमावर्ती क्षेत्रमा कामका लागि पुगेका थिए।
सम्पर्कविहीन हुनेमा खार्पुनाथ गाउँपालिका–१ का ३० वर्षीय जनक बुढा, अनिता रावत, उमेश बोहोरा तथा उमेश बोहोराकी श्रीमती र छोरा रहेका छन्। बोहोराकी श्रीमती र छोराको नाम भने खुल्न सकेको छैन।
त्यसैगरी, ताँजाकोट गाउँपालिका–२ का ४१ वर्षीय नहकुल शर्मा र धनराज जैसी पनि सम्पर्कविहीन छन्। शर्मा भन्सार अधिकृतका रूपमा कार्यरत रहेको प्रशासनले जनाएको छ।
सर्केगाड गाउँपालिका–८ राहदेउका तुलाराज बुढा र मानबहादुर ऐडी तथा चङ्खेली गाउँपालिका–१ का मनजित बुढा पनि बाढीपछि सम्पर्कविहीन रहेको विवरण प्रशासनले सार्वजनिक गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी शाहीका अनुसार मनजित बुढाले बाढी आएको करिब ३० मिनेटपछि सामाजिक सञ्जालमार्फत आफूहरू सुरक्षित रहेको आशयको पोस्ट गरेका थिए। त्यसपछि भने उनीसँग सम्पर्क हुन नसकेको प्रशासनले जनाएको छ।
यसैबीच, कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले सम्पर्कविहीन नागरिकको तत्काल खोज तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल भइरहेको बताएका छन्।
मुख्यमन्त्री शाहीले विपद्को समयमा प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर सङ्घ, प्रदेश र स्थानीय सरकार तथा विपद् व्यवस्थापनसँग सम्बन्धित सबै निकायलाई प्रभावकारी रूपमा परिचालन हुन आग्रह गरेका छन्।
भोटेकोशीमा आएको बाढीपछि रसुवाको प्रभावित क्षेत्रमा ठूलो क्षति पुगेको छ भने विभिन्न स्थानमा सञ्चार तथा यातायात सेवा प्रभावित हुँदा सम्पर्कविहीन व्यक्तिको खोजी तथा उद्धारमा चुनौती देखिएको छ।